रेमिट्यान्स वा हुण्डी : नेपाल पैसो पठाउँदै हुनुहुन्छ,होशियार हुनुस्।

Read Time:10 Minute, 16 Second

फुर्बान रायमाझी

गुजुरुप्प कोठा,मान्छेहरु भीडभाड गर्छन।कुर्सीमा बसेर कम्प्युटरमा औँला खेलाईरहेको चिनजानको मान्छे मतिर पुर्लुक्क हेर्छ।म आजको रेट कति छ भन्दै सोध्छु।

उ मतिर अर्कोपटक हेर्दैन र बोल्छ-११३/-

म खिस्स हाँस्छु र भन्छु- घटेछ।

कति पठाउछौं?

म हिसाब गर्न थाल्छु।

हिसाब निकालेर पैसो गनेर दिन्छु।एक पानो कागज फिर्ता आउँछ र खल्तीमा घुसार्दै फर्किन्छु। पसीनाको कमाई घर पुग्ने खुशीले ढुक्कको श्वास फेर्छु।
समय बदलियो,दिनहरु फेरिए। त्यसपछि युरो ११३ कहिल्यै भएन,उकालो लाग्यो सधै।यसपाली बढेर १३६ सम्म भो।पैसो पठाउने दुकानहरु बढें।पैसो पठाउने मान्छेहरु पनि बढें।पोर्चुगलको न्युनतम तलब पनि बढ्यो।चार पाँच बर्षको अन्तरमा धेरै मान्छेहरु आए,धेरै बाहिर गए।समयले धेरै फड्को मार्‍यो। थुप्रै मान्छेहरुले पनि आँखै अघि फड्को मारे।

चोकचोकमा पैसो पठाउने दुकानहरु खुले,कति ब्यानर टाँसेर खुले,कति ब्यानर नटाँसेरै।कतै फलफुलको बोर्ड टाँसेर पैसो पठाउने कारोबार शुरु भो,कतै मोबाईल र सीमकार्डको फोटो टाँसेर सजाईएका पैसो पठाउने दुकानहरु भेटिए,कतै रक्सीका ठुला बोतलका फोटोमुनी मसिना शब्दहरुमा रेमिट देखाईयो।कतै साईबरका पसलहरुमा साना अक्षरमा रेमिट लेखेर राखियो। जसरी राखेपनि दुकानहरु धुमधाम खुले।

उस्तै गुजुमुज्ज।उस्तै ब्यस्त जताततै।मान्छेहरु बढेकै हुन।महिना मर्दा बेफुर्सदिला साहुजीहरु मख्ख देखिए।सायद बोर्डमा देखाएको चिजभन्दा नदेखाएको काम बिक्यो।बोर्डका ठुला अक्षरहरु भन्दा मसिना अक्षरहरु काम लागें। कमाउनेहरु बढें,कमाई बढ्यो र रेट पनि बढिरहयो अनि कमाएर,जोगाएको पैसो घर पठाउन खुब जोसिए मान्छेहरु।

दुकानहरु बढ्न थालेपछी हामी गतिलो रेट खोज्न थाल्यौ,गतिलो दुकान होइन।दुकानहरु प्रतिस्पर्धा गरे,हामी बिश्वासिलो र भरपर्दो दुकान छान्न खोजेनौ।फेसबुकमा दिनहुँ अपडेट हुने रेटहरुमा तुलना गर्न थाल्यौं। तलव थाप्दाको दिन जताततै म्यासेज घुमाउन थाल्यौ।

फलानोले १० पैसा बढी लेख्या छ।

फलानोले पठाएको चार्ज बढी लिन्छ।

होइन,फलानोले सस्तो चार्जमा राम्रो रेटमा पठाईदिन्छु भनेको छ।

म केही साथीहरुसँग समुहमा यस्तै गफ गर्थे।दिनरात पसीना बगाएर घन्टा घन्टाको हिसाबमा कमाएको पैसा पठाउनुछ। १0 पैसा तलमाथीको दररेट हुँदा माथिल्लो रेटमा पठाउन पाईयो भन्दै खुब आनन्द लाग्छ,खुब महत्व राख्छ त्यो महिनाको कमाईप्रती १० पैसाले।जम्मा रकम कति फरक पर्छ भन्नेतिर सोच्दैन दिमाग उही १० पैसाले मीठो अर्थ र प्रभाव पार्छ जिन्दगीमा।अरु मान्छेहरु पनि १० पैसामा खुब भीडभाड गर्छन सायद सबैलाई मेहेनतको कमाईमा १० पैसोले पनि खुब महत्त्व राख्छ मलाईजस्तै।

समय अझै बदलियो,पैसो पठाउँदा मान्छेहरु एक पानो कागज पनि फिर्ता पाएनन।बिना कागज सुम्पिएको पैसोमा खुशी भए अझै उत्साहित भए।लोभले छाड्दै छोडेन,अर्को मीठो अर्थ,प्रभाव र महत्त्व थपियो परिश्रमको कमाईमा बिनाकागजका कारोबारहरुले।पठाएको चार्ज शून्य लाग्यो।सित्तैमा पठाउँदा चार्ज बचततिर जोडियो यता,आन्दानीतिर जोडियो उता।तर यो उत्साह र लोभ धेरैसमय टिकेन।यता बचत थपियो तर उता आम्दानी थप्न हप्तादिन लाग्न थाल्यो।पोर्चुगलबाट पठाएको रकम हप्तादिनमा नेपाल पुग्न थाल्यो,बिस्तारै महिनादिन र खप्टिए अरु महिनाहरुपनि।दशैँखर्च पठाएको रकम तिहार सकिदैं गर्दा पुग्यो।उपचार खर्च पठाएको रकम बार्षिक पुन्यतिथीमा पुग्यो।मान्छेहरु भित्रभित्रै आत्तिए।मान्छेहरुलाई १० पैसोको मीठो अर्थ,महत्व र प्रभाव प्रष्टै भो धेरैपछि।मान्छेहरु शून्य चार्जको प्रभाव डुब्नुसम्म डुबें, कति अझैसम्म डुबिरहेंछन सायद।

आखिर मिल्न सकुन्जेल मिल्नुपर्छ।
मिलाउन मिलुन्जेल मिलाउनैपर्छ।
कहिलेकाही सबथोक मिल्छ आँखै अगाडी
मिल्दै नमिल्ने धेरै कुराहरु पनि मिल्छ
तर बिना कागजका कामहरुमा प्रमाण मिल्दैन।
मिल्दै मिल्दैन,
प्रमाण नमिल्ने कुराहरुमा मन मिल्छ
क्षणिक।

धन्न यस्तो समयमा हामी डुबिएन मतलब मन मिलाईएन।मन मिलाएको भए क्षणिक हुन्थ्यो अरुको जस्तै।आफुले दु:ख गरि कमाएर पठाएको पैसा धन्न समयमै पुगेछ भनेर खुशी हुने दिन पनि आयो।त्यसपछी १० पैसा र शून्य चार्जको लोभ यो जिन्दगीमा कहिल्यै नफर्किने गरी तर्साएरै भाग्यो,मीठो शिक्षा दिएर भाग्यो।अचेल सम्झिदा हाँसो उठ्छ मज्जाले र जथाभावी मन मिल्दै मिल्दैन।

मान्छेहरु धेरैपछिसम्म बिलौना गरिरहे।

समय अझै बदलियो।मान्छेहरुलाई बिनाकागज पैसाको कारोबार गर्न हुन्न भन्ने ज्ञान भो। मिडियाले खुब लेखें र अझैपनी लेख्दैछन। अझै यसरी ठगिनेहरु पनि भेटिन्छन र भित्रभित्रै मिल्छन, मिलाउँछन । ठगिनु भन्नाले पठाएको पैसा पाउन हप्तादिन लाग्नु पनि हो,हप्ता खप्टिनु पनि हो।

आखिर बिनाप्रमाणका कामहरु बिश्वासमा चल्छन।बिनाप्रमाणका कामहरु नाम र सम्बन्धसँग जोडिएर पनि चल्छन।पैसोमा बिश्वासहरु तवसम्म पनि गुम्दैनन जवसम्म कारोबार बिग्रेको हुन्न,कारोबार बिगारिएको हुन्न।म केहिपटक कारोबार बिगारेर पैसोको सम्बन्धमा धोका दिएको छु,धोका खाएको पनि छु।यहाँ धोका खानु र धोका दिनुबीचको सम्बन्ध मसँग मिल्दै मिल्दैन।

ठग्नेहरुले ठग्न छाडेनन, प्रमाण बनाएर पनि ठग्न कस्सिए। लुट्न छाडेनन्, तरिका बदलियो र नक्कली कागजमा सक्कली छाप ठोकेर जिल्याएका न्युजहरु पनि आए। यताबाट पैसो गयो, उता पुग्दै पुगेन। पैसो नपुग्दा सक्कली छापवाला कागजको नम्बरले खुब जिस्क्यायो र मान्छेहरु नमज्जाले धोका पाएका खबरहरु आए। जिन्दगीमा यो न्युज मिडियामा देखेपछी खुब तर्सिए म। पुरै समुदाय छक्क भो, सोच्दै नसोचेको बिषय प्रबेश गर्यो मनमा। मान्छेहरुसँग ब्यबसाय र पैसोमा नैतिकता,बिश्वास र ईज्जत बाँकी छैन जस्तो भो । मान्छेसँग हरेक मान्छेहरु व्यवहार र बिश्वास गर्न डराए, आत्तिए र शंकामात्रै गरिरहे।

हामीले मान्छे चिन्नैपर्छ।मान्छे भनेको व्यवहार हो। व्यवहार र ब्यक्तिबीचको सम्बन्ध स्वभावले देखाउँछ। स्वभाव समुदायले बताउँछ, स्वभाव ब्यबहारले नै बताउँछ। हामी सम्पर्कलाई बिश्वास ठान्छौं र गलत गर्छौ। हामी बिश्वासमा सुम्पिन्छौ र पश्चातापमा जल्छौं। तसर्थ बारम्बार मूर्ख बन्छौं। लोभले बिलाप निम्त्याएरै छाड्छ। शून्य चार्जले दुनियाँ मूर्ख भैरहँदा हामी उतैतिर थपिन खोज्छौ अझै। १० पैसा भन्दै जथाभावी दौडिदा महिनाभरीको कमाई फुत्किन्छ भन्ने सोच्दै सोच्दैनौ।

तसर्थ बिश्वासिलो र भरपर्दो दुकान खोजौं,बिश्वासिलो र भरपर्दो व्यवहार गरौं।एउटै घटना र व्यवहार बिगार्दा ब्यबसाय ओरालो लागेर रातारात भागाभाग गर्नुपर्ने स्थिती कसैको नआओस्।बाघ ओराली लाग्दा हरिणले खेद्छ।

र महिनाभरी पसीना बगाएर कमाएको रुपैयाँ ढुक्कसँग नेपाल पठाउन पाईयोस।परिश्रमको कमाईमा मोजमस्ती गर्ने अधिकार कसैलाई छैन।

0 0

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu